बेथानचोक / काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउँपालिका वडा नम्बर २ मा स्थित श्री बालहित प्राथमिक विद्यालयको ३६ औँ वार्षिक उत्सव बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा वृहत सहभागीतासाथ सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथी भगवान अधिकारीले शिक्षा र विद्यार्थीहरूको समग्र विकासका विषयमा आफ्नो अनुभव तथा सुझावहरू साझा गर्नु भएको थियो। अध्यक्ष अधिकारीले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक तथा कर्मचारीको मेहनतको प्रशंसा गर्नु भएको थियो र अझै मेहनतका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो।
समाजसेवी मिना घिमिरेले गत वर्षमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको थियो भने यसपाली स्टेशनरी र खाजा वितरण गर्नुभयो।
यस अवसरमा वक्ता भगवान घिमिरे, केदार बहादुर क्षेत्री, कैलास तिमल्सिना, देवबिक्रम तिमल्सिना, रेणुका परियार, ठूलोबाबु तिमल्सिना, बिष्णु हरि तिमल्सिना, रूपा सुवेदी लगायतले विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधारका लागि सुझाव तथा सल्लाहहरू प्रदान गर्नुभयो।
साथै, ग्रामिण विकास संस्था र रेडक्रस सोसाइटीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गरेकोमा विशेष धन्यवाद दिइएको थियो।
विद्यालयले यस अवसरमा आफ्नो समय र योगदान दिनु भएका अभिभावक, विद्यार्थी, शिक्षक तथा नेतृत्व वर्ग सबैप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।
जननिर्वाचित काँग्रेस–एमाले नेतृत्वको सरकार जेन–जी आन्दोलनको रापले विस्थापित भयो। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले तोकेको फागुन २१ गतेको निर्वाचनबाट संवैधानिक निकास, स्थायी सरकार र मुलुकको समृद्धिको दिशातर्फ मार्गचित्र कोरिने अपेक्षा सबैमा रहेको छ। राजनीति व्यक्ति, दल र गुटभन्दा माथि उठेर मुलुकमा नयाँ अध्याय सुरु गर्न नवयुवा जेन–जीको आन्दोलन र शहीदहरूको भावना अनुरूप समग्र देशकेन्द्रित कार्य गर्ने नयाँ युगको प्रारम्भ रवि–बालेन सहकार्यले गरेको देखिन्छ।
२००७ सालमा प्रजातन्त्रको सुरुवातसँगै समृद्धितर्फ फड्को मार्नुपर्ने मुलुकले ७५ वर्ष बितिसक्दा पनि अपेक्षित विकास र समृद्धि हासिल गर्न सकेन। बीचमा पञ्चायत अन्त्य भई बहुदलीय शासन व्यवस्था आयो, तर त्यससँगै आएका विसङ्गति, विकृति र राजनीतिक तहबाट भएका अकर्मण्यताले मुलुकलाई थप जटिलतातर्फ धकेल्यो। यही अवस्थाको विरुद्ध २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धमा हजारौँ अमूल्य जीवन गुमे र खर्बौँको सम्पत्ति नष्ट भयो। २४० वर्ष लामो राजतन्त्रको अन्त्य भई गणतन्त्र प्राप्त भयो, तर उपलब्धि जनअपेक्षा अनुसार हुन सकेन। मुलुकमा सुशासन, जनउत्तरदायी र स्थायी सरकार स्थापित हुन सकेन।
राजनीति आसेपासे पाल्ने, सत्तामा रमाउने र सत्ता जोगाउन संसद्को संख्या जोडघटाउ गर्ने खेलमै सीमित रह्यो। प्रचण्ड र माओवादी आन्दोलनको पनि प्रभाव क्रमशः कमजोर हुँदै गयो र मुलुकमा युवा शक्ति जुर्मुराउन थाल्यो। ३० वर्षभन्दा बढी समय शासन गरेका नेताहरू जनताबाट क्रमशः पाखा लाग्दै गएका छन् र नयाँ युवा पुस्ताको उदय भइरहेको छ।
पछिल्लो आम निर्वाचनमा पुराना दललाई सबक सिकाउँदै नयाँ दल र युवाको नेतृत्वले राजनीतिमा सशक्त प्रवेश गर्यो। रवि र बालेनले यस प्रक्रियामा उल्लेखनीय भूमिका निर्वाह गर्दै शानदार ‘इन्ट्री’ गरिसकेका थिए। यद्यपि सबैमा निजी कमजोरी हुन्छन्, केही आन्तरिक कमजोरीका बाबजुद पनि युवापुस्तामा उनीहरूप्रति देशको आशा र भरोसा देखिएको छ।
मुलुकलाई नयाँ दिशा दिन, राजनीतिक गतिरोध अन्त्य गर्न र जेन–जी आन्दोलनको मर्म अनुरूप अघि बढ्न उनीहरूबीचको सहकार्यले महत्वपूर्ण अर्थ राख्दछ। हालै सम्पन्न उनीहरूबीचको सहमतिले दिशाहीन बनेको मुलुकको अवस्था सुधार्न विकास र समृद्धिका लागि मिलेर काम गर्ने स्पष्ट संकेत दिएको छ।
उक्त सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरू प्राप्त गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन गर्ने वाचा गरिएको छ।
यद्यपि सम्झौता व्यक्तिगत र दलगत लेनदेनकै परिणाम भए पनि यसबाट नेपाली जनताले धेरै अपेक्षा गरेका छन्। तथाकथित ‘पुराना बाघ’ भनिएका दल र नेताहरूमा समेत यस सहकार्यले तरंग पैदा गरेको छ। अब उनीहरूलाई आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने अनुभूति भएको छ र पुरानै शैलीले अब काम नगर्ने चेत खुलेको छ।
नवयुवा र देशको उज्ज्वल भविष्यका लागि यो द्विपक्षीय सम्झौताले बहुपक्षीय र बृहत् फड्को मार्न सकोस्। देश र जनता सुखी–खुसी बनून्। मुलुकमा स्थायी सरकार बनोस्, शान्ति र अमनचैन कायम होस्, रास्वपा वैकल्पिक शक्ति बनोस्। शुभकामना !
रौतहट / प्रणामी व्यावसायी संघ नेपालको पाँचौँ केन्द्रीय वार्षिक साधारणसभा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा शनिबार सम्पन्न भएको छ।
चन्द्रपुरस्थित शहीद पार्कमा आयोजित साधारणसभाको उद्घाटन चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि उदय सापकोटाले गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले प्रणामी व्यावसायी संघले धार्मिक मूल्य–मान्यतासँगै व्यवसायीहरूको हकहितका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। उहाँले संघलाई अझ सशक्त, संगठित र देशव्यापी रूपमा विस्तार गर्न शुभकामना व्यक्त गर्दै पवित्र भावनाका साथ व्यवसायी हितमा निरन्तर क्रियाशील रहन आग्रह गर्नुभयो। साथै, व्यवसायीहरूको हकहितका लागि चन्द्रपुर नगर उद्योग वाणिज्य संघबाट आवश्यक सबैखाले सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित निजानन्द धाम, नजरपुर (रौतहट) का गद्दीपति १०८ श्री सुरेन्द्र महाराजजीले शुभभाव व्यक्त गर्दै प्रणामी व्यावसायी संघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। उद्घाटन समारोहमा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले, नमराज ढकाल, खुल बहादुर गौतम, अनिता पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
संघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन समारोहमा स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष रामप्रसाद पोख्रेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव प्रमोद वाग्लेले गर्नुभएको व्यवसायी संघ बाराका अध्यक्ष होमनाथ उप्रेतीले जानकारी दिनुभयो।
साधारणसभामा आठ जिल्लाका जिल्ला अध्यक्षहरूले आ–आफ्ना जिल्लाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
करिब सयौँ व्यवसायीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा प्रेम भोजको समेत व्यवस्था गरिएको थियो।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सातबुँदे सहमति भएको छ।
आइतबार बिहान सम्पन्न सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिह्न घण्टी कायम रहनेछ।
सहमतिपत्रमा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन् :-
१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ।
३. बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टीको आकृतिसहित रहनेछ। चुनाव चिह्न घण्टी नै रहने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने व्यवस्था गरिएको छ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।
५. बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानिनेछ।
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गरिनेछ।
यस सहमतिलाई नेपाली राजनीतिमा नयाँ वैकल्पिक शक्तिको रूपमा बृहत् एकताको प्रयासका रूपमा हेरिएको छ।
काठमाडौँ / कला, साहित्य, संस्कृति र इतिहासको पहिचान तथा राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डा र विभूतिको संरक्षण गर्ने उद्देश्यका साथ १३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस आयोजना गरिने भएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम २०८२ साल पौष १७ गते बिहीबार (January 01, 2026) काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा नेपाली मौलिक पोशाक, ढाका टोपी र राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय पोशाक र टोपी नेपाली पहिचान, स्वाभिमान र संस्कृतिको प्रतीक भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताइएको छ।
यस सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालकी आजीवन सदस्य तथा अभियान्ता इरिना तिमल्सिनाले राष्ट्रिय पोशाक र टोपीको महत्व नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, संस्कृतिकर्मी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।